पर्सा, २५ माघ।
जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने क्रममा पटेर्वासुगौली क्षेत्रमा अवैध गाँजा खेतीविरुद्ध कडा कारबाही गरेको छ।
ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले माघ २४ गते दिउँसो करिब १२:०० बजे विशेष सूचनाको आधारमा पटेर्वासुगौली गाउँपालिका वडा नं. ४ सुगौलीस्थित एलानी करिब १ कट्ठा जग्गामा अवैध रूपमा गरिएको गाँजा खेती फेला पारेको हो।
प्राप्त सूचनापछि तत्कालै प्रहरी निरीक्षक अधिकारीको नेतृत्वमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। सो क्रममा उक्त स्थानमा करिब ८०० वटा गाँजाका बोटहरू अवैध रूपमा खेती गरिएको पाइएको र सबै गाँजाका बोटहरू फडानी गरी नियमानुसार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले लागूऔषध कारोबार तथा खेती नियन्त्रणका लागि अभियानलाई निरन्तरता दिइने जनाएको छ। साथै, यस्ता गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कानुनअनुसार कडा कारबाही गरिने चेतावनी समेत दिएको छ।
स्थानीय स्तरमा शान्ति सुरक्षा कायम राख्न तथा लागूऔषधमुक्त समाज निर्माणका लागि प्रहरी प्रशासन दृढतापूर्वक सक्रिय रहेको प्रहरीको भनाइ छ।
