पर्सा, २५ माघ।
पर्सा जिल्लामा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मतदानस्थलहरूको निरीक्षण तथा सुरक्षा अनुगमन कार्य भएको छ।

आज पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा तीनवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूद्वारा जिल्लाका विभिन्न मतदानस्थलहरूको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको हो।
अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ,निर्वाचन आयोग पर्साका पदाधिकारीहरू तथा राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरूको सहभागिता रहेको थियो।

निरीक्षणका क्रममा मतदानस्थलको भौतिक अवस्था, सुरक्षा व्यवस्थापन, मतदाता आवत–जावत, मतदान सामग्री व्यवस्थापन तथा सम्भावित चुनौतीहरूको मूल्यांकन गरिएको जनाइएको छ। साथै, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षात्मक रणनीतिबारे पनि छलफल गरिएको थियो।
प्रमुख जिल्ला अधिकारी दाहालले निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउन प्रशासन तथा सुरक्षा निकाय पूर्ण रूपमा तयारी अवस्थामा रहेको उल्लेख गर्दै सबै सरोकारवालालाई सहकार्य गर्न आग्रह गर्नुभएको छ।
