वीरगञ्ज, फागुन ६ ।पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका नेकपा (एमाले) उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडामा घरदैलो तथा जनता दर्शन कार्यक्रमलाई तीव्रता दिएका छन्। बुधबार वडा नम्बर ११ श्रीपुर र वडा नम्बर १४ बहुवरी टोलमा सम्पन्न कार्यक्रमहरूमा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता देखिएको थियो।
वडा नम्बर ११ श्रीपुरमा आयोजित कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सो अवसरमा उम्मेदवार यादवले घर–घरमा पुगेर स्थानीयवासीका समस्या, सुझाव र अपेक्षाहरू प्रत्यक्ष रूपमा सुन्ने अवसर पाएको बताए। उनले जनताको माया, विश्वास र समर्थनले आफूलाई थप ऊर्जा र प्रेरणा प्राप्त भएको उल्लेख गर्दै वडा विकासका योजनाहरूलाई प्रभावकारी र परिणाममुखी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
यस्तै, वडा नम्बर १४ बहुवरी टोलमा सम्पन्न घरदैलो कार्यक्रममा पनि यादवले स्थानीय आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गरेका थिए। उनले जनताको दुःख–सुख, समस्या र अपेक्षा नजिकबाट बुझ्ने अवसरले आफूलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको बताए।
उम्मेदवार यादवले आफ्नो अभियान केवल चुनाव जित्ने उद्देश्यमा सीमित नभई वडा तथा क्षेत्रको समग्र विकास गर्ने संकल्पसहित अघि बढेको स्पष्ट पारे। उनले सुशासन, पारदर्शिता, शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर स्पष्ट योजनासहित काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले पनि विकास, सेवा सुविधा विस्तार तथा सुशासनप्रति आफ्नो अपेक्षा राख्दै सकारात्मक साथ र समर्थन जनाएका थिए। यादवले जनताको विश्वास र सहयोगकै आधारमा समृद्ध वडा र क्षेत्र निर्माण सम्भव हुने विश्वास व्यक्त गरे।
