पर्सामा १६७ मतदान स्थल सिसिटिभी निगरानीमा, निर्वाचन सुरक्षा कडा

समाचार

पर्सा ,८ फागुन ।आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय पर्सा ले जिल्लाभर विशेष सुरक्षा रणनीति लागू गरेको जनाएको छ।

प्रहरीका अनुसार पर्सा जिल्लामा रहेका कुल १६७ मतदान स्थलहरूलाई फागुन १७ गतेसम्म सिसिटिभी (CCTV) प्रणालीसँग जोड्ने व्यवस्था मिलाइएको छ। उक्त प्रणालीमार्फत मतदान स्थलहरूको २४ सै घण्टा निगरानी गरिनेछ, जसले फागुन २१ गते हुने मतदान प्रक्रियालाई थप सुरक्षित, पारदर्शी र मर्यादित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति परिचालन, नियमित अनुगमन तथा सम्बन्धित निकायहरूसँग समन्वयात्मक कार्यलाई उच्च प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ। सम्भावित जोखिमको मूल्याङ्कन गरी संवेदनशील क्षेत्रहरूमा थप सतर्कता अपनाइने पनि बताइएको छ।

प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन सबै सरोकारवाला निकाय तथा आम नागरिकसँग सहयोगको अपिल गरेका छन्।

प्रहरीले मतदातालाई निर्धक्क भई मतदानमा सहभागी हुन आग्रह गर्दै कुनै पनि अवाञ्छित गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन अनुरोध गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *