पर्सा–१ मा कांग्रेस उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानमा जनताको भव्य स्वागत

राजनीति समाचार

पर्सा, ११ फागुन ।
नेपाली कांग्रेसका पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङटाको घरदैलो अभियानलाई स्थानीय जनताले भव्य स्वागत गरेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ चोर्नीमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरू उत्साहपूर्वक सहभागी हुँदै रुङटालाई फूलमाला, अबिर तथा नारासहित अभिनन्दन गरेका थिए।

घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुङटाले आफ्नो उम्मेदवारी क्षेत्रको समग्र विकासका लागि भएको उल्लेख गरे। उनले रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा विस्तार तथा आधुनिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। “जनताको विश्वास र मत नै मेरो सबैभन्दा ठूलो शक्ति हो। पर्सा क्षेत्र नम्बर–१ को दिगो विकासका लागि म निरन्तर समर्पित रहनेछु,” उनले भने।

घरदैलो अभियानका क्रममा रुङटाले स्थानीय बासिन्दाका समस्या, गुनासा, सुझाव तथा अपेक्षाहरू ध्यानपूर्वक सुन्दै समाधानका लागि आवश्यक पहल गर्ने विश्वास दिलाए। स्थानीय नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्दै उनले जनताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर विकासका योजना अघि बढाउने प्रतिबद्धता जनाए।

यसैबीच नेपाली कांग्रेस प्रचारप्रसार समितिका मधेश प्रदेश सदस्य राहुल गुप्ताले कोनियामा सम्पन्न घरदैलो कार्यक्रम अत्यन्त उत्साहजनक र प्रभावकारी रहेको जानकारी दिए। उनका अनुसार स्थानीय जनताको उल्लेखनीय सहभागिता र समर्थनले आगामी निर्वाचनमा सकारात्मक परिणामको संकेत गरेको छ।

कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पछिल्लो समय पर्सा क्षेत्र नम्बर–१ मा उम्मेदवारहरूको घरदैलो अभियान तीव्र बन्दै गएको छ भने चुनावी माहोल दिनप्रतिदिन थप सक्रिय र उत्साहजनक बन्दै गएको देखिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *