डिआईजी ढकालद्वारा पर्सा जिल्लास्थित सशस्त्र प्रहरी इकाइहरूको अनुगमन, सीमावासीसँग सुमधुर सम्बन्ध कायम राख्दै सीमा सुरक्षा कडाइ गर्न निर्देशन

समाचार

वीरगञ्ज, ५ चैत। सशस्त्र प्रहरी बल नेपाल, मधेस प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) कृष्ण ढकालले पर्सा जिल्लास्थित सशस्त्र प्रहरीका विभिन्न इकाइहरूको अनुगमन गरेका छन्। बुधबार गरिएको अनुगमनका क्रममा उनले सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्सा तथा सीमा सुरक्षा गुल्म, वीरगञ्ज भन्सार क्षेत्रको स्थलगत निरीक्षण गरेका हुन्।

अनुगमनका क्रममा डिआईजी ढकालले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। उनले आगामी दिनमा पनि यस्तै समर्पणका साथ शान्ति सुरक्षा कायम राख्न निर्देशन दिएका छन्।

उनले विशेषगरी सीमा नाकाहरूमा कडा निगरानी कायम गर्न, अवैध गतिविधि तथा तस्करी नियन्त्रणमा कुनै किसिमको सम्झौता नगर्न स्पष्ट निर्देशन दिएका छन्। “सीमा सुरक्षा संवेदनशील विषय भएकाले यसमा उच्च सतर्कता आवश्यक छ,” उनले भने।

त्यसैगरी, सीमा क्षेत्रमा कडाइ गर्दा सर्वसाधारण नागरिकलाई अनावश्यक दुःख वा हैरानी नहुनेतर्फ विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले सीमावासीसँग सुमधुर सम्बन्ध कायम राख्दै जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका छन्।

अनुगमनका क्रममा उनले सशस्त्र प्रहरी बल नं. १३ गण तथा वीरगञ्जस्थित गुल्मको भौतिक संरचना, स्रोत–साधनको व्यवस्थापन तथा जनशक्तिको अवस्था समेत अवलोकन गरेका थिए। संगठनको मापदण्डअनुसार अनुशासन कायम राख्दै प्रभावकारी रूपमा कर्तव्य निर्वाह गर्न उनले मातहतका कर्मचारीलाई निर्देशन दिएका छन्।

यसैबीच, हालै सशस्त्र प्रहरी बल नं. १३ गणले सामाजिक उत्तरदायित्व अन्तर्गत पर्सा जिल्लाका विभिन्न पालिकामा शारीरिक रूपमा अशक्त नागरिकहरूलाई व्हिलचेयर वितरण गरेको कार्यप्रति डिआईजी ढकालले प्रशंसा व्यक्त गरे। उनले सशस्त्र प्रहरीले सुरक्षा जिम्मेवारीसँगै यस्ता सामाजिक सेवामूलक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता समेत जनाएका छन्।

सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ, जसले स्थानीयस्तरमा सुरक्षा र विश्वास अभिवृद्धि गर्न सहयोग पुगेको बताइएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *