बिरगञ्ज, ६ चैत । सशस्त्र प्रहरी बल, नेपाल पर्साले हुण्डी कारोबार नियन्त्रणका क्रममा २० लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरीका अनुसार पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं. १७ अलौ निवासी अन्दाजी ५० वर्षीय विनय शंकर साह तुरहा रहेका छन्। उनलाई भारतको रक्सौलबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा वीरगञ्ज भन्सार क्षेत्रको मुख्य प्रवेशद्वारमा चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो।
सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा भारत नम्बर प्लेटको मोटरसाइकल (BR 05BK 8603) जाँच गर्ने क्रममा मोटरसाइकलको सिट कभरमुनि प्लास्टिकमा प्याक गरी लुकाएर ल्याइरहेको अवस्थामा उक्त नगद बरामद गरेको जनाएको छ।
उक्त कारबाही सशस्त्र प्रहरी बल, नेपाल पर्सा अन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्जका डिएसपी विकास अधिकारीको नेतृत्वमा खटिएको टोलीले गरेको हो।
बरामद गरिएको नगदमध्ये नेपाली रुपैयाँ २० लाख २ हजार ५० र भारतीय रुपैयाँ ६ सय रहेको सशस्त्र प्रहरीले जनाएको छ। विस्तृत विवरण अनुसार १ हजार दरका १,३०२ थान (रु. १३,०२,०००), ५०० दरका १,४०० थान (रु. ७,००,०००) र ५० दरको १ थान (रु. ५०) गरी नेपाली रुपैयाँ जम्मा २०,०२,०५० तथा भारतीय १०० दरका ६ थान नोट (भारु ६००) बरामद गरिएको हो।
त्यसैगरी, अभियुक्तबाट सामसुङ ग्यालेक्सी A15 मोडलको एक थान मोबाइल फोन र “वीरगञ्ज भन्सार एजेन्ट संघ पर्सा” लेखिएको परिचयपत्र समेत बरामद गरिएको छ। उक्त परिचयपत्रमा उनलाई सहायक कर्मचारी (Assistant Employee) उल्लेख गरिएको पाइएको छ।
सशस्त्र प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानबाट उक्त रकमको स्रोत खुल्न नसकेको र हुण्डी कारोबारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।
पक्राउ परेका साहलाई बरामद नगद, मोटरसाइकल तथा अन्य सामग्रीसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।
सशस्त्र प्रहरीले पछिल्लो समय सीमा क्षेत्रमा अवैध हुण्डी कारोबार, तस्करी तथा स्रोत नखुलेको रकम ओसारपसार नियन्त्रण गर्न निगरानी तथा चेकजाँच कडा बनाएको जनाएको छ। साथै यस्ता अवैध गतिविधिविरुद्ध कारबाहीलाई अझ तीव्र बनाइने प्रहरीको भनाइ छ।
