नवलपरासी (पश्चिम), चैत १८ ।
नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सञ्चालित ११औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह बुधबार सम्पन्न भएको छ। समारोह दान बहादुर कार्की को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
दीक्षान्त कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले तालिमका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुका साथै प्रशिक्षक तथा तालिम सफल पार्न योगदान पुर्याउने व्यक्तिहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो। सो अवसरमा उहाँले महाविद्यालय परिसरमा नवनिर्मित “आर्म ब्याज” नमुना स्तम्भको अनावरण समेत गर्नुभयो।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले शारीरिक तथा मानसिक रूपमा चुनौतीपूर्ण भए पनि गौरवपूर्ण रहेको उक्त तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिनुभयो। तालिमबाट आर्जित ज्ञान, सीप, आत्मविश्वास र साहस देशको आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, आतंकवाद नियन्त्रण तथा विशिष्ट व्यक्तिको सुरक्षामा महत्वपूर्ण हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।
उहाँले कार्यक्षेत्रमा जनअपेक्षाअनुसार कानुनसम्मत, निष्पक्ष र विश्वासयोग्य सेवा प्रवाह गर्न निर्देशन दिँदै कुनै पनि प्रकारका प्रलोभन, भय वा दबाबबाट प्रभावित नभई उच्च व्यावसायिकता, नैतिकता र इमानदारिताका साथ जिम्मेवारी निर्वाह गर्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाह ले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा.ले स्वागत मन्तव्य व्यक्त गर्नुभयो।
तालिम संयोजक प्रहरी उपरीक्षक प्रदिप बहादुर क्षेत्रीका अनुसार ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ७, प्रहरी सहायक निरीक्षक १८ र प्रहरी जवान ६८ गरी जम्मा ९३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।
दीक्षान्त समारोहका क्रममा प्रशिक्षार्थीहरूले बाधा पार डेमोन्स्ट्रेशन, हतियार खोलजोड, स्यान्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अपरेशन, ‘फायर एण्ड मुभ’ अभ्यास, खाली हात लडाइँ तथा एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजलसम्बन्धी प्रदर्शन गरेका थिए।
समारोहमा सुनवल नगरपालिकाका प्रमुख बिमला अर्याल, नवलपरासी (पश्चिम) का प्रमुख जिल्ला अधिकारी, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, वरिष्ठ प्रहरी अधिकृत तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
