जनकपुरधाम, १८ चैत । मधेश प्रदेश प्रहरी कार्यालयले प्रदेशका सीमावर्ती क्षेत्रबाट व्यापक तस्करी भइरहेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २०८२ चैत १७ गते Scoopkhabar.com लगायतका अनलाइन तथा पत्रपत्रिकामा “मधेश प्रदेशका ८ वटै जिल्लाको सिमानाकाबाट व्यापक तस्करी भइरहेको” शीर्षकमा प्रकाशित समाचारहरू आधारहीन, झुटा, कपोकल्पित तथा भ्रामक रहेको उल्लेख गरिएको छ।
प्रहरीले उक्त समाचारहरूले संगठन तथा कार्यरत प्रहरी कर्मचारीहरूको बदनाम गर्ने तथा चरित्र हत्या गर्ने उद्देश्यले प्रसारित भएको दाबी गरेको छ। विज्ञप्तिमा यस्ता सामग्रीमा कुनै पनि तथ्यगत सत्यता नभएको स्पष्ट पारिएको छ।
मधेश प्रदेश प्रहरी कार्यालयले आफू तथा मातहतका कार्यालयहरूले नियमित रूपमा अवैध चोरी तस्करी नियन्त्रणका लागि सक्रिय रूपमा काम गर्दै आएको जनाएको छ। साथै, तस्करीसँग सम्बन्धित सामान बरामद गरी कानुन बमोजिम आवश्यक कारबाही गरिँदै आएको र यससम्बन्धी विवरणहरू नियमित रूपमा प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिँदै आएको उल्लेख गरिएको छ।
यसैबीच, प्रहरी कार्यालयले सम्बन्धित सञ्चारमाध्यम र पत्रकारहरूलाई समाचार प्रकाशन गर्दा पत्रकारिताको न्यूनतम मापदण्ड, आधारभूत सिद्धान्त तथा आचारसंहिताको पालना गर्न आग्रह गरेको छ। सही र तथ्यपरक सूचना सम्प्रेषण गर्नुपर्ने दायित्वप्रति संवेदनशील बन्न पनि आग्रह गरिएको छ।

उक्त प्रेस विज्ञप्ति मधेश प्रदेश प्रहरी कार्यालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक भेषराज रिजालद्वारा हस्ताक्षरित रहेको छ।
