काठमाडौं, चैत १८।
गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै संगठनले सम्पादन गरिरहेका कार्यसम्पादन, सीमा सुरक्षाको अवस्था तथा प्रविधि प्रयोगको प्रगति बारे विस्तृत जानकारी लिनुभएको छ।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले सशस्त्र प्रहरी बलले मुलुकको आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, सीमा निगरानी तथा अपराध नियन्त्रणमा निर्वाह गरिरहेको भूमिकाको सराहना गर्नुभएको थियो। उहाँले विशेष गरी सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन अपनाइएका डिजिटल प्रणाली तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे चासो व्यक्त गर्दै त्यसको प्रभावकारिता र आगामी योजनाबारे जानकारी लिनुभएको हो।
सशस्त्र प्रहरीका उच्च अधिकारीहरूले प्रस्तुतिकरणमार्फत हाल प्रयोगमा रहेका डिजिटल निगरानी प्रणाली, सीमा क्षेत्रमा जडान गरिएका सीसीटीभी, ड्रोन प्रविधि, डेटा विश्लेषण प्रणाली तथा एआईमा आधारित निगरानी प्रविधिबारे जानकारी गराएका थिए। उक्त प्रविधिले अवैध ओसारपसार नियन्त्रण, मानव बेचबिखन रोकथाम तथा सीमापार अपराध न्यूनीकरणमा सहयोग पुगेको जानकारी दिइएको थियो।
गृहमन्त्री गुरुङले प्रविधिको प्रयोगलाई अझ व्यापक र प्रभावकारी बनाउन निर्देशन दिँदै आधुनिक प्रविधिसँग तालमेल मिलाएर सुरक्षाकर्मीको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सीमा सुरक्षा व्यवस्थापनलाई समयानुकूल सुदृढ बनाउनु आवश्यक रहेको उल्लेख गर्दै प्रविधिमैत्री सुरक्षा प्रणालीको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
यस अवसरमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल तथा अन्य उच्च पदस्थ अधिकृतहरूको उपस्थितिमा संगठनको भावी रणनीति, चुनौती तथा सुधारका पक्षबारे पनि छलफल भएको थियो। गृहमन्त्री गुरुङले सुरक्षाकर्मीको मनोबल उच्च राख्दै सेवा प्रवाहलाई थप चुस्त, दुरुस्त र पारदर्शी बनाउन निर्देशन दिनुभएको छ।
निरीक्षण भ्रमणका क्रममा गृहमन्त्रीले संगठनको भौतिक संरचना, प्रविधिगत पूर्वाधार तथा जनशक्ति व्यवस्थापनको अवस्थाबारे समेत अवलोकन गर्नुभएको थियो। साथै, उहाँले सीमावर्ती क्षेत्रमा खटिएका सुरक्षाकर्मीहरूको कार्यक्षमता अभिवृद्धिका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउनेतर्फ सरकार गम्भीर रहेको स्पष्ट पार्नुभयो।
सशस्त्र प्रहरी बल नेपालले पछिल्लो समय प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै सीमा सुरक्षा तथा विपद् व्यवस्थापनका क्षेत्रमा आफ्नो भूमिका थप सुदृढ बनाउँदै आएको जनाएको छ।
