काठमाडौंबाट लागुऔषधसहित एक युवक पक्राउ, ४६८० क्याप्सुल ट्रामाडोल बरामद

समाचार

काठमाडौं, २० चैत । लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–३ स्थित एक डेरा कोठाबाट एक युवकलाई ठूलो परिमाणको लागुऔषधसहित नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले साँझ करिब ६ बजे नुवाकोट ककनी गाउँपालिका–५ घर भई हाल नागार्जुन नगरपालिका–३ सीता बाल विकास माध्यमिक विद्यालय नजिक डेरा गरी बस्दै आएका २४ वर्षीय सुनिल चिम्से उर्फ सुनिल गोलेलाई पक्राउ गरेको हो।

प्रहरीले उनको डेरा कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषध तथा नगद बरामद गरेको जनाएको छ। बरामद लागुऔषधमध्ये ट्रामाडोल ४,६८० क्याप्सुल, नाइट्राजेपाम १४५ ट्याबलेट, डाइजापाम ६० एम्पुल, फेनार्गन ५८ एम्पुल र नुर्फिन ५८ एम्पुल रहेका छन्।
यसैगरी, घटनास्थलबाट विभिन्न कम्पनीका तीन थान मोबाइल फोन तथा नगद १७ हजार ३०० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका गोलेमाथि लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *