जोखिमपूर्ण संरचनामा व्यापार नगर्न पर्सा प्रशासनको कडा चेतावनी

समाचार

वीरगञ्ज, ११ बैशाख ।
वीरगञ्जको मुख्य सडक (मेनरोड) क्षेत्रमा दायाँ–बायाँका घर तथा टहराहरू भत्काइएपछि संरचना कमजोर बनेकाले त्यस्ता जोखिमपूर्ण स्थानमा व्यापार व्यवसाय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ।

सडक डिभिजन कार्यालय, हेटौंडाको कार्यक्रमअनुसार मिति २०८३ वैशाख ६ गते मितेरी पुलदेखि गण्डक चौकसम्म निर्धारित सीमाभित्र पर्ने घर–टहराहरू हटाइएको थियो। अधिकांश घरधनीहरूले स्वस्फूर्त रूपमा आफ्ना संरचना भत्काएर व्यवस्थापन गरिरहेका छन्।
तर, केही घरधनीहरूले भत्किएका तथा जोखिमयुक्त संरचनामै अन्य व्यक्तिहरूलाई व्यापार सञ्चालन गर्न दिइरहेको पाइएको भन्दै प्रशासनले गम्भीर चिन्ता व्यक्त गरेको छ। यस्तो अवस्थामा घरधनी, व्यवसायी तथा सर्वसाधारणको ज्यानसमेत जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार जोखिमपूर्ण संरचनामा व्यापार सञ्चालन गर्दा कुनै अप्रिय घटना भएमा त्यसको पूर्ण जिम्मेवारी सम्बन्धित घरधनी स्वयंले वहन गर्नुपर्नेछ। साथै, प्रचलित कानून बमोजिम कारबाहीसमेत गरिने जनाइएको छ।

प्रशासनले संरचना व्यवस्थापनका क्रममा कामदारहरूको सुरक्षालाई उच्च प्राथमिकता दिन र जोखिमयुक्त भवन तथा टहराहरू तत्काल सुरक्षित रूपमा हटाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक (मिति २०८३ वैशाख ११) को निर्णयअनुसार सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी सूचनामा सर्वसाधारणलाई सतर्क रहन विशेष आग्रह गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *