रौतहट, १७ वैशाख ।
१८ वर्षअघि आफ्नै बुबाको हत्या गरी फरार रहेका एक व्यक्ति अन्ततः प्रहरीले पक्राउ गरेको छ।
जिल्ला रौतहट साविक जयनगर गाविस वडा नं. ४ (हाल गरूडा नगरपालिका वडा नं. १) निवासी ६५ वर्षीय बिशेश्वर महतो कोईरीको हत्या प्रकरणमा उनका कान्छा छोरा राम बिलास महतो (हाल ४९ वर्ष) लाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो।
घटना मिति २०६४ साल जेठ २० गते राति करिब मध्यरातमा भएको थियो। सो रात बिशेश्वर महतोलाई गोठघरमै हातखुट्टा बाँधी धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। घटनापछि संलग्नता खुल्ने डरले आरोपी परिवारसहित फरार भएका थिए।
प्रहरीको दीर्घ अनुसन्धानका क्रममा चकित पार्ने तथ्य खुलेको छ। अनुसन्धान अनुसार राम बिलास महतोले गाउँका विभिन्न व्यक्तिहरूसँग ठूलो ऋण लिएका थिए। साथै, ऋणदातासँग जग्गा सम्बन्धी मुद्दा पनि चलिरहेको थियो। आर्थिक संकट र मुद्दा व्यवस्थापन गर्न नसक्ने अवस्थाबाट बच्न उनले योजनाबद्ध रूपमा आफ्नै बुबाको हत्या गरेको खुलेको छ।
प्रहरीका अनुसार उनले बुबाको हत्या गरेपछि ऋणदाताहरूलाई ज्यान मुद्दामा फसाएर ऋण नतिर्ने र जग्गा विवाद समेत समाधान गर्ने नियत राखेका थिए।
लामो समयसम्म फरार रहेका उनलाई खोजतलास गर्ने क्रममा मिति २०८३ वैशाख १६ गते चितवन जिल्लामा लुकीछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विष्णु प्रदीप बस्यालका अनुसार पक्राउ परेका अभियुक्तमाथि थप अनुसन्धान भइरहेको छ।
