नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो : एकतर्फी यातायात सञ्चालन

समाचार

चितवन, २० वैशाख । लगातारको वर्षापछि नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ। तुइन खोला र पानीधारा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक आंशिक रूपमा अवरुद्ध भएको हो।

आज बिहान करिब ५ः४५ बजे पहिरो खसेपछि हाल उक्त सडकखण्डमा एकतर्फी रूपमा मात्रै यातायात सञ्चालन भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिएका छन्।
उनका अनुसार पहिरो पन्छाउन डिभिजन सडक कार्यालय भरतपुरसँग समन्वय गरी डोजर मगाइएको छ। पहिरो खसेको स्थान मुग्लिनबाट करिब पाँच किलोमिटर नारायणगढतर्फ पर्छ।

पानीधारा क्षेत्रमा भने सडकमा खसेका ढुङ्गा हटाइसकिएको र त्यहाँको यातायात सामान्य अवस्थामा फर्किएको प्रहरीले जनाएको छ।

प्रहरीले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन र आवश्यक सावधानीका साथ यात्रा गर्न आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *