पर्सा, २१ वैशाख । वीरगञ्ज महानगरपालिकास्थित पूर्वाधार विकास कार्यालय पर्साको बोर्डमा मोबिल छर्केर फरार भएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
मंगलबार बिहान करिब ९:२० बजे वीरगञ्ज महानगरपालिका–२३ मा रहेको कार्यालय परिसरमा कर्मचारी राम प्रवेश यादवसँग विकास योजनाको विषयलाई लिएर विवाद भएपछि उनीहरूले कार्यालयको बोर्डमा मोबिल छर्केर भागेका थिए।
घटनाबारे कार्यालय प्रमुखले दिउँसो २:३० बजे वडा प्रहरी कार्यालय श्रीपुरलाई टेलिफोनमार्फत जानकारी गराएपछि खटिएको प्रहरी टोलीले संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–११ बस्ने ३३ वर्षीय जयपुजन ठाकुर लोहार र वडा नं. १३ राधेमाई बस्ने ३० वर्षीय मनमोहन पाण्डे रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार घटनामा संलग्न दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।
