नयाँ दिल्ली,६ मंसिर । प्रधानमन्त्री वालेन्द्र शाह र भारतका विदेशमन्त्री डा. एस. जयशंकरबीच भारतको नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा आपसी सहकार्य विस्तार गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ।
नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको भेटमा दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप उचाइमा पुर्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भेटवार्ताका क्रममा विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका महत्वपूर्ण क्षेत्रमा सहकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
त्यसैगरी नेपाल र भारतबीच विद्यमान द्विपक्षीय सहकार्यका क्षेत्रलाई थप विस्तार गर्दै पारस्परिक हित र साझा समृद्धिका लागि सहकार्यलाई नयाँ गति दिने विषयमा समेत दुवै पक्षबीच विचार आदानप्रदान भएको बताइएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि भारत पुग्नुभएको हो। यस भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने, आपसी विश्वास अभिवृद्धि गर्ने तथा आर्थिक, व्यापारिक र विकास साझेदारीलाई नयाँ उचाइमा पुर्याउने अवसरका रूपमा हेरिएको छ।
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय छलफलमार्फत दुई देशबीचको सम्बन्धलाई थप परिणाममुखी बनाउने अपेक्षा गरिएको छ।
भेटवार्तासम्बन्धी जानकारी प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको हो।
