पर्सा ,२४ बैशाख । ट्रान्सफर्मर जडान गर्ने क्रममा भएको विस्फोटमा परेर एक मजदुर गम्भीर घाइते भएका छन्। बहुदरमाई नगरपालिका वडा नं. ३ निवासी ४५ वर्षीय चनरजित राउत अहिर दुर्घटनामा परेपछि हाल काठमाडौँस्थित वीर अस्पताल मा उपचाररत रहेका छन्।
अहिर वीरगञ्ज महानगरपालिका वडा नं. २३ मा रहेको सन तारा इलेक्ट्रिक प्रा.लि. कम्पनीमा कार्यरत थिए। उनी जितपुर–सिमरा उपमहानगरपालिका वडा नं. २३ भलुईस्थित एभरेस्ट छाला कम्पनीमा ट्रान्सफर्मर जडान गर्ने क्रममा अचानक भएको विस्फोटमा परेका हुन्। विस्फोटपछि उनको शरीरको अधिकांश भाग जलेको परिवारले जनाएको छ।
घटनापछि उनको अवस्था गम्भीर बनेको र हाल काठमाडौँमा उपचार जारी रहेको बताइएको छ। तर पीडित परिवारले सन तारा इलेक्ट्रिक कम्पनीका सञ्चालक राज यादव तथा एभरेस्ट छाला कम्पनीका सञ्चालकले उपचारको जिम्मेवारी लिन अस्वीकार गरेको गुनासो गरेका छन्।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा ठूलो समस्या भइरहेको भन्दै परिवारले सम्बन्धित निकाय, स्थानीय सरकार तथा सरोकारवालासँग सहयोगको अपिल गरेका छन्। साथै, घटनाको निष्पक्ष छानबिन गरी घाइते मजदुरलाई उचित क्षतिपूर्ति र उपचारको व्यवस्था गराउन माग गरिएको छ।
