वीरगञ्जमा खैरो हिरोइनसहित दुई युवक पक्राउ

समाचार

वीरगञ्ज, ३ जेठ ।पर्सा प्रहरीले सञ्चालन गर्दै आएको “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत वीरगञ्जबाट खैरो हिरोइनसहित दुई युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार राति करिब ९ः४० बजे वीरगञ्ज महानगरपालिका–३१ कटगेनवा स्थित सडकखण्डमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी मिलनचोकबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको मोटरसाइकल रोकी चेकजाँच गरेको थियो।

भेडियाहीबाट मिलचोलतर्फ जाँदै गरेको ना ३९ प २५३२ नम्बरको स्प्लेण्डर मोटरसाइकलमा सवार दुई जनामाथि शंका लागेपछि प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शरीर तथा सामान जाँच गर्दा उनीहरूले लगाएको पाइन्टभित्र लुकाइछिपाइ राखिएको अवस्थामा खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–३२ परसवा निवासी २० वर्षीय राहुल सिंह र बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ खालका टोल निवासी १९ वर्षीय नन्दन गुप्ता रहेका छन्।

उनीहरूको साथबाट प्लास्टिकसहित ८ ग्राम ४० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

प्रहरीले पक्राउ परेका दुवै जनामाथि लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *