१०० दिनमै ३ करोड बराबरको तस्करीको सामान बरामद गरि जब्त

समाचार

(डिएसपी विकास अधिकारीको नेतृत्वमा वीरगञ्ज नाकामा सशस्त्र प्रहरीको कडा निगरानी, तस्कर गिरोहमाथि दबाब बढ्दो)

बिरगंज ,३ जेठ ।
सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत पर्सास्थित सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सार हे.क्वाटरले पछिल्लो समय तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। गुल्मका डिएसपी विकास अधिकारी को नेतृत्वमा करिब १०० दिनको अवधिमा मात्रै करिब ३ करोड रुपैयाँ बराबरका भन्सार छलिका विभिन्न अवैध सामान तथा सवारीसाधन बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ।

भारतसँग खुला सीमा जोडिएको वीरगञ्ज क्षेत्र लामो समयदेखि तस्करी, अवैध ओसारपसार तथा लागुऔषध कारोबारको प्रमुख ट्रान्जिट बन्दै आएको अवस्थामा सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी कडा बनाएपछि तस्कर समूहहरू दबाबमा परेका छन्। विशेष गरी वीरगञ्जका विभिन्न संवेदनशील नाका, खुला सीमाक्षेत्र तथा आवतजावत बढी हुने मार्गहरूमा नियमित गस्ती, चेकजाँच, निगरानी तथा छापामारी अभियान सञ्चालन गरिएको जनाइएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सामानहरूमा कपडा, किराना सामग्री, इलेक्ट्रोनिक्स सामान, मोटरसाइकल, प्रतिबन्धित खाद्यवस्तु, लागुऔषध तथा अन्य भन्सार छलिका सामग्रीहरू रहेका छन्। बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित भन्सार कार्यालय तथा निकायमा बुझाइएको बताइएको छ।

डिएसपी विकास अधिकारीले गुल्मको नेतृत्व सम्हालेपछि सीमा क्षेत्रमा निगरानी थप प्रभावकारी बनेको स्थानीयवासीको भनाइ छ। तस्करी नियन्त्रणसँगै सीमा सुरक्षालाई सुदृढ बनाउने, अवैध आर्थिक गतिविधिमा संलग्न गिरोहको सञ्जाल भत्काउने तथा लागुऔषध कारोबार नियन्त्रण गर्ने अभियानलाई प्राथमिकतामा राखेर काम भइरहेको सुरक्षा स्रोतले जनाएको छ।

केही दिनअघि मात्रै तालिमप्राप्त कुकुरको सहयोगमा ठूलो परिमाणमा लागुऔषध हिरोइन बरामद गरिएको घटनालाई पनि सशस्त्र प्रहरीको पछिल्लो सफल अभियानका रूपमा हेरिएको छ। खुला सीमाको फाइदा उठाउँदै लागुऔषध ओसारपसार गर्ने गिरोहमाथि निगरानी बढाइएकाले सीमा क्षेत्रमा अवैध गतिविधिमा कमी आउन थालेको सुरक्षा अधिकारीहरूको दाबी छ।

यस अभियानलाई सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्री को निर्देशनमा थप प्रभावकारी बनाइएको बताइएको छ। पर्सास्थित सशस्त्र प्रहरी इकाइहरूले तस्करी नियन्त्रणसँगै सीमा क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न, अवैध गतिविधि न्यूनीकरण गर्न तथा नागरिकमा सुरक्षा अनुभूति बढाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

स्थानीयवासीहरूका अनुसार पछिल्लो समय सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको छ। रात्री गस्ती, आकस्मिक चेकजाँच तथा सूचना संकलनलाई व्यवस्थित बनाइएकाले तस्करीमा संलग्न समूहहरू त्रसित बनेका छन्। खुला सीमाको चुनौतीका बाबजुद सुरक्षा निकायले प्रभावकारी कार्यसम्पादन गरिरहेको भन्दै स्थानीयले प्रशंसा समेत गरेका छन्।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने कुनै पनि शंकास्पद गतिविधिबारे तत्काल जानकारी गराउन नागरिकसँग आग्रह गरेको छ। सीमा सुरक्षा तथा तस्करी नियन्त्रण केवल सुरक्षा निकायको जिम्मेवारी मात्र नभई आम नागरिकको पनि साझा दायित्व भएकाले सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *