बिरगंज ,४ जेठ ।
दारूल इफ्ता वल कजा नेपाली जामे मस्जिद काठमाडौं ले सूचना जारी गर्दै मुस्लिम धर्मावलम्बीहरूको महान पर्व ईद-उल-अधा (कुरबानी ईद) आगामी जेठ १४ गते बिहीबार मनाइने जनाएको छ। मस्जिदद्वारा जारी सूचनाअनुसार आइतबार साँझ मगरिबको समयमा चन्द्रमा हेर्ने प्रयास गरिए पनि नेपाल तथा नेपालसँग जोडिएका भारतीय क्षेत्रका कुनै पनि स्थानबाट चन्द्रमा देखिएको पुष्टि हुन नसकेपछि सोमबार जिल-काएदाको ३०औँ दिन र मंगलबारदेखि जिल-हिज्जा महिनाको पहिलो दिन सुरु हुने निर्णय गरिएको हो।

यसअनुसार १० जिल-हिज्जा अर्थात् ईद-उल-अधा मे २८, २०२६ (जेठ १४, २०८३) बिहीबारका दिन नेपालभर मनाइने भएको मस्जिदले जनाएको छ।
ईद-उल-अधा इस्लाम धर्मावलम्बीहरूको प्रमुख धार्मिक पर्वमध्ये एक हो। यसलाई “कुरबानी ईद” वा “बकर ईद” पनि भनिन्छ। यो पर्व पैगम्बर Prophet Ibrahim ले अल्लाहप्रतिको पूर्ण आज्ञापालन र समर्पणको प्रतीकस्वरूप आफ्नो प्रिय पुत्रलाई बलिदान गर्न तयार भएको ऐतिहासिक घटनाको सम्झनामा मनाइन्छ।
कुरबानीको धार्मिक महत्व
“कुरबानी” शब्द अरबी भाषाको “कुर्ब” बाट बनेको हो, जसको अर्थ नजिक हुनु वा समर्पण गर्नु भन्ने हुन्छ। ईद-उल-अधाको अवसरमा मुस्लिम समुदायले बाख्रा, भेडा, वा ऊँटजस्ता जनावरको बलि दिने परम्परालाई कुरबानी भनिन्छ।
कुरबानीको मुख्य उद्देश्य अल्लाहप्रति समर्पण प्रकट गर्नु, त्याग र मानवताको भावना विकास गर्नु तथा गरिब तथा विपन्न समुदायलाई सहयोग गर्नु रहेको धार्मिक विद्वानहरू बताउँछन्।
इस्लामिक परम्पराअनुसार ईदको नमाजपछि मात्र कुरबानी गरिन्छ। स्वस्थ तथा निश्चित उमेर पुगेका जनावरलाई पीडा नदिई धार्मिक विधिअनुसार जिबह गरिन्छ। कुरबानीको मासु परिवार, आफन्त तथा गरिब र आवश्यक परेका व्यक्तिहरूबीच बाँड्ने चलन रहेको छ।
नेपालभर उत्साहका साथ मनाइने
नेपालसहित विश्वभरका मुस्लिम समुदायले मस्जिदमा विशेष नमाज अदा गर्दै, शुभकामना आदानप्रदान गर्दै तथा कुरबानी गरेर यो पर्व मनाउने गर्दछन्। विशेषगरी वीरगञ्ज, काठमाडौं, नेपालगञ्ज लगायतका क्षेत्रमा ईद-उल-अधा विशेष उत्साह र धार्मिक श्रद्धाका साथ मनाइने तयारी भइरहेको छ।
