वीरगञ्ज, ७ जेठ ।
जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत फरार अभियुक्तहरूको खोजी कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार विशेष सूचनाको आधारमा खटिएको फैसला कार्यान्वयन टोलीले फरार अवस्थामा लुकिछिपी बस्दै आएका प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको हो।
पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्मानित पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पहिलो घटनामा विगो भरी भराउ मुद्दामा अदालतबाट दोषी ठहर भई कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरिएको हो। मिति २०८३ जेठ ६ गते साँझ करिब ५ बजे जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर क्षेत्रमा लुकिछिपी बस्दै आएका पर्साको बहुदरमाई नगरपालिका–३ निवासी ४५ वर्षीय सोनालाल साह तेलीलाई पक्राउ गरेको हो।
सम्मानित पर्सा जिल्ला अदालतको फैसलाले उनलाई विगो भरी भराउ मुद्दामा २ वर्ष कैद सजाय सुनाएको थियो। अदालतको फैसला पश्चात फरार रहेका उनलाई लामो समयदेखि प्रहरीले खोजी गरिरहेको थियो। पक्राउपछि उनलाई अदालतमा उपस्थित गराउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी चोरी मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका अर्का प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०८३ जेठ ६ गते राति करिब ९ः१० बजे वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको फैसला कार्यान्वयन टोलीले वीरगञ्ज महानगरपालिका–१४ पिपरा टोलबाट २७ वर्षीय रोशन पटेललाई पक्राउ गरेको हो।
वीरगञ्ज–१४ निवासी पटेललाई सम्मानित पर्सा जिल्ला अदालतले चोरी मुद्दामा ४ महिना कैद तथा २० हजार रुपैयाँ जरिवाना सजाय तोकेको थियो। अदालतको फैसला कार्यान्वयनबाट बच्न उनी फरार अवस्थामा बस्दै आएका थिए। प्रहरीले विशेष निगरानी तथा सूचनाका आधारमा उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ।
पछिल्लो समय पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन निरन्तर खोजतलास तथा निगरानी बढाइएको प्रहरीको भनाइ छ।
प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको अभियानले फरार अपराधीहरूलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनमा सहयोग पुगेको स्थानीयवासीको भनाइ छ।
प्रहरीले आगामी दिनमा पनि फरार प्रतिवादी तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध अभियान अझ सशक्त रूपमा सञ्चालन गरिने जनाएको छ।
