बारा, जेठ ९ ।सशस्त्र प्रहरी बल, नेपालको “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत बारा जिल्लाको विश्रामपुर गाउँपालिका–३ मुसहर्वास्थित बर्थिङ सेन्टरमा आयोजना गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट २५१ जना स्थानीय नागरिक लाभान्वित भएका छन्। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच पुर्याउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरप्रति स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराको आयोजनामा सम्पन्न शिविर स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रा.लि., वीरगञ्ज, पर्सा तथा विश्रामपुर गाउँपालिका, बाराको सहकार्यमा सञ्चालन गरिएको हो। ग्रामीण तथा सीमावर्ती क्षेत्रका नागरिकले सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फाक अलि भुटो प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल, स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्य शाखा प्रमुख अलि अखबर हुसेन, स्पर्श मल्टिस्पेशलिटी हस्पिटल प्रा.लि. वीरगञ्जका डा. महेश्वर प्रसाद, भद्रभलाद्मी तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्वास्थ्य शिविरमा डा. महेश्वर प्रसाद, डा. अक्लाखुर रहमान तथा डा. रुपेन्द्र मिश्रासहित स्वास्थ्यकर्मी सन्तोष कुमार र अशोक राजको टोलीले स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक स्वास्थ्य सुझाव प्रदान गरेका थिए। शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विभिन्न दीर्घरोगबाट पीडित नागरिकहरूले सेवा लिएका थिए।
आयोजकका अनुसार शिविरबाट १४६ जना महिला र १०५ जना पुरुष गरी कुल २५१ जनाले नि:शुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्। सामान्य रोगको परीक्षण, स्वास्थ्य परामर्श तथा आवश्यक औषधि वितरणसमेत गरिएको जनाइएको छ।
स्थानीयवासीहरूले दुर्गम तथा सीमावर्ती क्षेत्रमा यस्ता स्वास्थ्य शिविरले ठूलो राहत मिलेको बताएका छन्। आर्थिक अभाव तथा स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने नागरिकका लागि शिविर प्रभावकारी बनेको सहभागीहरूको भनाइ थियो।
सशस्त्र प्रहरी बलले “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत सुरक्षा गतिविधिसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई पनि निरन्तरता दिँदै आएको छ। यसअघि पनि सीमावर्ती क्षेत्रमा स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, विपद् व्यवस्थापन तालिम तथा सामाजिक सहयोगका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
कार्यक्रमले सीमावर्ती क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नुका साथै सशस्त्र प्रहरी बल र स्थानीय समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास रहेको छ।
