बारा, जेठ ९। बारा प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा मातहत इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो पर्साको संयुक्त टोलीले १२५ किलो गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मिति २०८३ जेठ ७ गते राति करिब ११:२० बजे जितपुरसिमरा उपमहानगरपालिका–१ दुधौरा पुल नजिकै पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अवैध लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।
उक्त स्थानमा पुगेको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका रौतहट चन्द्रपुर नगरपालिका–१ पौराही घर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका–१८ पसाहा टोल बस्दै आएका २७ वर्षीय मानबहादुर स्याङतानलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
प्रहरीले स्याङतानले सडक छेउमा बिक्री वितरणका लागि राखेको अवस्थामा ९ वटा पोकामा प्याक गरिएको १२५ किलो लागूऔषध गाँजा बरामद गरेको जनाएको छ। घटनास्थल नजिकै रहेको नम्बर स्पष्ट नखुलेको ४३११ नम्बरको कारलाई समेत प्रहरीले नियन्त्रणमा लिन खोज्दा चालकसहित फरार भएको बताइएको छ।
फरार कार र त्यसमा संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका स्याङतानविरुद्ध लागूऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत बाराबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले जानकारी दिए।
