कलैया, जेठ १७ । बारा प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेका ठूलो परिमाणका कुखुराका चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शनिबार बिहान करिब ३ बजे प्रहरी चौकी कचोर्वाबाट प्र.ब.ना.नि. देवबहादुर बिष्टको कमाण्डमा खटिएको गस्ती टोलीले सिम्रौनगढ नगरपालिका–६ अमरपुर क्षेत्रमा भारतबाट अवैध रूपमा कुखुराका चल्ला ल्याइँदै गरेको सूचना पाएपछि निगरानी गरेको थियो।
प्रहरी टोलीलाई देख्नासाथ चल्ला बोकेर आएका व्यक्तिहरूले कार्टुनहरू बाटोमै फालेर भारततर्फ फरार भएका थिए। त्यसपछि प्रहरीले घटनास्थलबाट ८८ कार्टुन कुखुराका चल्ला बरामद गरेको जनाएको छ।
बरामद गरिएका चल्लाको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ। पशुपन्छीजन्य वस्तुको अवैध आयातले पशु स्वास्थ्य तथा जैविक सुरक्षामा जोखिम निम्त्याउन सक्ने भएकाले नियन्त्रणमा लिइएका चल्लाहरू स्थानीय जनप्रतिनिधि र क्वारेन्टाइन अधिकृतको रोहवरमा नष्ट गरिएको थियो।
सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार तथा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको प्रहरीले जनाएको छ। भारतबाट चोरीपैठारी गरी ल्याइने पशुपन्छी तथा कृषि सामग्रीले स्थानीय उत्पादन र पशु स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले यस्ता गतिविधिविरुद्ध निगरानी थप कडा पारिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए।
प्रहरीले अवैध आयात–निर्यात तथा तस्करीजन्य गतिविधिबारे सूचना भए तत्काल नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
