वीरगञ्ज, जेठ १७ । पर्साको वीरगञ्ज महानगरपालिका–१० बजरंग टोलमा आफ्नै श्रीमतीको हत्या गरी फरार भएका एक व्यक्तिलाई प्रहरीले महोत्तरीबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जेठ १४ गते साँझ करिब ७:१० बजे वीरगञ्ज–१० निवासी ४५ वर्षीय रामनारायण दास तत्माले मदिरा सेवन गरेपछि आफ्नी ४२ वर्षीया श्रीमती हलसिया कुमारी देवीमाथि फलामको गल प्रयोग गरी टाउको तथा शरीरका विभिन्न भागमा क्रूरतापूर्वक प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएकी हलसिया कुमारी देवीको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार रहेका रामनारायण दास तत्माको खोजीका लागि पर्सा प्रहरी सक्रिय रूपमा परिचालन भएको थियो। अनुसन्धानका क्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीको सहयोगमा उनलाई जेठ १६ गते दिउँसो करिब १२ बजे महोत्तरीको रामगोपालपुर नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका तत्मा महोत्तरी रामगोपालपुर नगरपालिका–७ का स्थायी बासिन्दा भए पनि हाल वीरगञ्ज महानगरपालिका–१० मा बसोबास गर्दै आएका थिए।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिमाथि कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसुर) मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
घटनाले घरेलु हिंसा र मदिरा सेवनबाट उत्पन्न हुने गम्भीर अपराधप्रति पुनः चिन्ता बढाएको स्थानीयवासीले बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
