नवलपरासी (बर्दघाट सुस्ता पूर्व),४ भदौ । गैँडाकोट नगरपालिका–१४, भागरबाट दुई दिनदेखि हराइरहेका साढे दुई वर्षीय बालकलाई प्रहरीले सामुदायिक वन क्षेत्रबाट सकुशल उद्धार गरेको छ।
भागर निवासी हेमकुमारी आले भदौ २ गते बिहान करिब ७ बजे घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किएपछि नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको थाहा पाएपछि खोजी सुरु गरिएको थियो।
स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा खोजतलास गरे पनि बालक फेला नपरेपछि प्रहरीलाई जानकारी गराइएको थियो। त्यसपछि बालकको खोजीका लागि इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी र स्थानीयवासीको संयुक्त खोजीका क्रममा भदौ ४ गते बिहान करिब १० बजे गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा बालक शिवान तामाङलाई सकुशल फेला पारिएको हो।
दुई दिनसम्म जंगल क्षेत्रमा हराइरहेका बालक सकुशल भेटिएपछि परिवार तथा स्थानीयवासीले राहतको महसुस गरेका छन्। उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
