वीरगञ्ज, जेठ २१ ।जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिँदै लागूऔषध मुद्दामा अदालतबाट सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा सञ्चालन भइरहेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उक्त सफलता हासिल गरेको हो। प्रहरी निरीक्षक प्रदीप पौडेलको कमाण्डमा खटिएको प्रहरी टोलीले लागूऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका पर्साको कालिकामाई गाउँपालिका–५ निवासी जितेन्द्र महतो केवटलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका केवटविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा अदालतबाट १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो। फैसला कार्यान्वयनबाट बच्न उनी लामो समयदेखि फरार रहँदै आएका थिए।
विशेष सूचनाको आधारमा खोजतलास तथा निगरानी बढाइएका बेला प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको हो। पक्राउपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको प्रहरीले जनाएको छ।
पछिल्लो समय पर्सा प्रहरीले अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई प्राथमिकताका साथ अघि बढाएको छ। एसपी सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको अभियान अन्तर्गत विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई निरन्तर पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिँदै आएको छ।
प्रहरी स्रोतका अनुसार फरार प्रतिवादीहरूलाई कानुनी दायरामा ल्याउने कार्यले न्यायिक प्रणालीप्रति जनविश्वास बढ्नुका साथै अपराध नियन्त्रण र कानूनको प्रभावकारी कार्यान्वयनमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले अदालतबाट सजाय तथा जरिवाना तोकिएर फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्यलाई अझ प्रभावकारी बनाइएको जनाएको छ। प्रहरीले कानूनबाट कोही पनि उम्किन नसक्ने सन्देश दिँदै यस्ता अभियान आगामी दिनमा समेत निरन्तर जारी रहने स्पष्ट पारेको छ।
