बारा, २१ जेठ । बाराको पचरौता नगरपालिका–४ बेल्दारीमा सर्पदंशका कारण १९ महिनाका एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार स्थानीय संजय रामका १९ महिनाका छोरा धनजय राम आफ्नी आमा सोनापती देवी रामसँग मकैबारीमा गएका बेला सर्पले टोकेको थियो। बुधबार बिहान करिब १० बजे सोनापती देवी ज्यालादारी काम गर्न रबिन्द्र यादवको मकै खेतमा पुगेकी थिइन्। सोही क्रममा मकैबारीमा खेलिरहेका बालक धनजयलाई सर्पले दाहिने खुट्टामा टोकेको प्रहरीले जनाएको छ।
सर्पले टोकेपछि बालकको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि दिउँसो करिब २ बजे प्रादेशिक अस्पताल कलैया लगिएको थियो। तर अस्पताल पुग्नुअघि नै उनको मृत्यु भइसकेको चिकित्सकले जनाएको प्रहरीले जानकारी दिएको छ। अस्पतालमा गरिएको ईसीजी परीक्षणबाट पनि बालकको बाटोमै मृत्यु भएको पुष्टि भएको थियो।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी बेल्दारीबाट प्रहरी सहायक निरीक्षक सुनिल यादवको कमाण्डमा टोली खटिएर आवश्यक अनुसन्धान तथा बुझ्ने कार्य गरेको थियो।
प्रहरीका अनुसार साँझ करिब ६ बजे मृतक बालकको शव उनका हजुरबुवा रामरेख रामले बुझिलिएका छन्।
यस घटनाले स्थानीय क्षेत्रमा शोकको वातावरण सिर्जना गरेको छ। गर्मीयामसँगै सर्पदंशका घटनामा वृद्धि भइरहेकाले खेतबारी तथा झाडी क्षेत्रमा काम गर्दा विशेष सावधानी अपनाउन चिकित्सक तथा सुरक्षाकर्मीले आग्रह गरेका छन्।
