बारा, २१ जेठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ ब्राहकिलो क्षेत्रमा आएको हावाहुरीका कारण पूर्व–पश्चिम राजमार्गमा रुख ढल्दा केही समय यातायात प्रभावित भएको छ।
बुधबार साँझ करिब ५ः१० बजे आएको हावाहुरीले सडक छेउको ठूलो रुख राजमार्गमा ढालेपछि एकतर्फी रूपमा सवारी आवागमन अवरुद्ध भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली तथा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस निजगढ, बाराको टोली कटर मेसिनसहित घटनास्थलमा खटिएको थियो।
प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा सडकमा ढलेका रुखहरू काटेर हटाइएको थियो। तीव्र रूपमा सञ्चालन गरिएको उद्धार तथा व्यवस्थापन कार्यपछि साँझ ६ः५२ बजेबाट राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
हावाहुरीका कारण कुनै मानवीय क्षति नभएको र सडक अवरुद्ध हुँदा केही समय सवारी साधनको आवागमनमा मात्र समस्या भएको बताइएको छ। सुरक्षाकर्मीको द्रुत सक्रियताका कारण छोटो समयमै राजमार्ग सुचारु भएपछि यात्रु तथा चालकहरूले राहत महसुस गरेका छन्।
स्थानीय प्रशासनले मौसम प्रतिकूल रहेका बेला सावधानी अपनाउन तथा आपतकालीन अवस्थाबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरेको छ।
