कलैया, २१ जेठ । बारा र पर्साका प्रहरी इकाईहरूको संयुक्त टोलीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका–२ बरैनिया बजारबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी बारा, लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्ज पर्सा तथा इलाका प्रहरी कार्यालय छतवा बाराबाट खटिएको संयुक्त टोलीले बुधबार दिउँसो करिब २ बजे विशेष अपरेशन सञ्चालन गरेको थियो।
अपरेशनका क्रममा भारतको मोतिहारी जिल्ला हरपुर पञ्चायत–६ निवासी २१ वर्षीय राकेश कुमार साहले पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठी गाउँ निवासी २० वर्षीय अजित मगिज्ञालाई लागूऔषध बिक्री गरिरहेको अवस्थामा फेला परेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राकेश कुमार साहको शरीर खानतलासी गर्दा उनले लगाएको कालो हाफ पाइन्टभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १७ ग्राम ३९० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको थियो। उक्त पदार्थ सेतो प्लास्टिकमा प्याक गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट BR05BT3756 नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ। बरामद लागूऔषध र मोटरसाइकलसहित दुवै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेका अनुसार सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाइएको छ र यस्ता अवैध गतिविधिविरुद्ध निगरानी तथा कारबाहीलाई निरन्तरता दिइनेछ।
प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न व्यक्तिहरूविरुद्ध सूचना उपलब्ध गराउन सर्वसाधारणसँग पनि आग्रह गरेको छ।
