दुधौरा खोलाको काँसघारीमा वृद्ध मृत अवस्थामा फेला

समाचार

बारा, जेठ २१ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित दुधौरा खोलाको झोलुङ्गे पुल नजिकैको काँसघारीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्।

स्थानीयवासीले बिहीबार बिहान करिब ९ बजे उक्त स्थानमा एक पुरुष मृत अवस्थामा रहेको देखेपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा मुचुल्का प्रक्रिया सम्पन्न गरेको थियो।

मृतक अमलेखगञ्ज निवासी अन्दाजी ८२ वर्षीय कृष्ण बल रहेको प्रहरीले जनाएको छ। घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। पोस्टमार्टम सम्पन्न भएपछि शव मृतकका छोरा सूर्य लामाले बुझेर लगेका छन्।

प्रहरीका अनुसार मृतक कृष्ण बल लामो समयदेखि उच्च रक्तचाप (प्रेसर) सम्बन्धी समस्याबाट पीडित रहेका थिए। साथै उनी विगत दुई दिनदेखि परिवारको सम्पर्कमा नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *