रौतहट, २३ जेठ। रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका विभिन्न सामान तथा एक पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ।
इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले २२ जेठमा दुर्गाभगवती गाउँपालिका–३ स्थित झाझ पुल नजिक चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको करिब ९ हजार रुपैयाँ मूल्य बराबरको २.२५ लिटरका ८१ थान माउन्टेन ड्यु बरामद गरेको थियो।
त्यसैगरी २३ जेठ बिहान करिब १:४५ बजे जिल्ला प्रहरी कार्यालय र मातहतको इलाका प्रहरी कार्यालय कोप्वा पिपरियाबाट संयुक्त रूपमा खटिएको प्रहरी गस्ती टोलीले बौधीमाई नगरपालिका–५ स्थित बमनहर सडकखण्डमा शंकास्पद अवस्थामा रहेको प्रदेश २-०३-००१ च २७२१ नम्बरको पिकअप गाडी फेला पारेको थियो।
प्रहरीका अनुसार उक्त गाडीमा भन्सार छली गरी ल्याइएको ३ हजार किलोग्राम मिठा (गुड) लोड गरिएको अवस्थामा भेटिएको थियो। प्रहरी टोलीलाई देख्नासाथ चालक गाडी र सामान छाडेर फरार भएका थिए।
बरामद गरिएको १ लाख ५० हजार रुपैयाँ बराबरको गुड तथा २० लाख रुपैयाँ मूल्यको पिकअप गाडी सहित कुल २१ लाख ५९ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन गौर भन्सार कार्यालय, रौतहट मा बुझाइएको प्रहरीले जनाएको छ।
रौतहट प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त गौतम ले भन्सार छली तथा अवैध आयात नियन्त्रणका लागि जिल्लाभर निगरानी र गस्तीलाई थप प्रभावकारी बनाइएको जानकारी दिएका छन् ।
