वीरगञ्ज,२५ जेठ । पर्सा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई नगद रकम र ताससहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले दिएको जानकारी अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवाखालमा छापा मार्ने क्रममा जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्तिहरूको साथबाट जुवा खेल्न प्रयोग गरिएको ६ बुक तास तथा नगद रकम समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई जुवा सम्बन्धी कसुर अन्तर्गत आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ। जुवा तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि जिल्लाभर निगरानी र अभियानलाई थप प्रभावकारी बनाइएको पर्सा प्रहरीले जनाएको छ।
पछिल्लो समय पर्सा प्रहरीले अवैध गतिविधिविरुद्ध सञ्चालन गरेको अभियानलाई तीव्रता दिँदै जुवा, लागूऔषध तथा तस्करी नियन्त्रणमा निरन्तर सफलता हासिल गर्दै आएको छ। प्रहरीले यस्ता गैरकानुनी गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गर्दै सूचना भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत अनुरोध गरेको छ।
