वीरगञ्ज ,२४ बैशाख । पर्साको ठोरी गाउँपालिकाबाट प्रहरीले प्रतिबन्धित लागूऔषध जस्तो देखिने क्याप्सुलसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ वैशाख २१ गते दिउँसो करिब ४ः२० बजे इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको नियमित चेकिङ टोलीले ठोरी गाउँपालिका–१ चौताराचोकमा ठोरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.३–००१ ख २६०४ नम्बरको सार्वजनिक बसलाई रोकी जाँच गरेको थियो।
जाँचका क्रममा बसमा सवार चितवनको माडी नगरपालिका–८ निवासी १९ वर्षीय विश्वास परियारको साथबाट प्रतिबन्धित लागूऔषध जस्तो देखिने “Laborate” लेखिएको निलो रंगको ४७५ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उनका पाइन्टको दाहिने खल्तीबाट २२५ पिस र बायाँ खल्तीबाट २५० पिस क्याप्सुल बरामद गरेको हो।
बरामद लागूऔषधसहित परियारलाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिएका छन्।
