हत्याको आरोपी २५ वर्षपछि पक्राउ

समाचार

वीरगञ्ज, २५ जेठ । पर्सामा २५ वर्षअघि भएको कर्तव्य ज्यान (हत्या) घटनामा संलग्न भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार तत्कालीन धौरे गाविस–८ (हाल पकाहामैनपुर गाउँपालिका–१) मा २०५८ फागुन २६ गते भएको हत्या घटनामा संलग्न रहेका काशी महतो चाई भन्ने ५० वर्षीय काशी प्रसाद चौहानलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो।

प्रहरीका अनुसार २०५८ फागुन २६ गते बिहान करिब ८ बजे सोही स्थानकी २६ वर्षीया रावडी भन्ने रीना देवीको घरायसी विवादका क्रममा घाँटी थिचेर हत्या गरिएको थियो। घटनापछि चौहान फरार रहँदै आएका थिए।
लामो समयदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको विशेष टोलीले २०८३ जेठ २४ गते बिहान करिब ७ बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका चौहानविरुद्ध कर्तव्य ज्यान (ज्यान सम्बन्धी कसुर) मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ। यस सम्बन्धमा पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति प्राप्त गरी अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए।

२५ वर्षअघि भएको हत्या घटनाका मुख्य प्रतिवादी पक्राउ परेसँगै लामो समयदेखि अल्झिएको यो मुद्दाको अनुसन्धानले नयाँ गति लिएको प्रहरीको भनाइ छ। प्रहरीले फरार अपराधीहरूको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *