वीरगञ्जमा ३ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध स्याउ बरामद, तीन जना पक्राउ

समाचार

वीरगञ्ज, २९ जेठ — पर्सा प्रहरीले विशेष सूचनाको आधारमा सञ्चालन गरेको अभियानमा भन्सार छली गरी ल्याइएको ठूलो परिमाणको स्याउ बरामद गर्दै तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहिवार  बिहान करिब ९ बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित मितेरी पुलमुनीको बाटो हुँदै भारततर्फ जाँदै गरेको बी.म.न.पा. १ ह १–०७९६ नम्बरको अटो रिक्सा रोकी चेकजाँच गर्दा बिना बिलबिजकका ८ कार्टुन स्याउ फेला परेको थियो।

प्रहरीले अटो रिक्सा र त्यसमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त स्याउ वीरगञ्ज महानगरपालिका–८ गहवास्थित अवैध रूपमा सञ्चालन गरिएको गोदामबाट ल्याइएको खुल्न आएको थियो।
त्यसपछि प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी उक्त गोदाममा खानतलासी गर्दा थप ५९ कार्टुन स्याउ बरामद गरेको जनाएको छ। यससँगै कुल ६७ कार्टुन स्याउ बरामद गरिएको हो।

प्रहरीले गोदाम सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१४ निवासी २९ वर्षीय धनन्जय प्रसाद कलवार (गोदाम सञ्चालक), सोही स्थानका २० वर्षीय अमन कुमार पासवान तथा वीरगञ्ज महानगरपालिका–२ छप्कैया निवासी १९ वर्षीय इब्राम आलम (अटो रिक्सा चालक) रहेका छन्।

बरामद गरिएको स्याउको अनुमानित मूल्य ३ लाख ७५ हजार २०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरू, बरामद स्याउ तथा अटो रिक्सालाई थप अनुसन्धान एवं आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय पठाइएको छ।

यस सम्बन्धमा जानकारी दिँदै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले भन्सार छली तथा अवैध कारोवार नियन्त्रणका लागि प्रहरीको निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाइएको बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *