वीरगञ्ज, साउन २२ । इन्डियन आयल कर्पोरेसन (IOC) को बरौनी टर्मिनल (बिहार, भारत) बाट नेपाल आयल निगमको हवाई इन्धन डिपो, सिनामंगल काठमाडौंका लागि ल्याइएको हवाई इन्धन बीच बाटोमै चोरी गरी बिक्री वितरण भइरहेको अवस्थामा पर्सा प्रहरीले ट्याङ्करसहित सात जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाको आधारमा बिहीबार साँझ करिब ५:१० बजे वीरगञ्ज महानगरपालिका–१४ स्थित बाइपास सडकखण्डमा रहेको सौदागर आयल सेन्टर मा छापा मार्दा ना.७ख १५३९ नम्बरको २० हजार लिटर क्षमताको ट्याङ्करबाट अनाधिकृत रूपमा इन्धन निकालेर ग्यालेनमा भर्दै गरेको अवस्थामा फेला पारेको हो।
प्रहरीका अनुसार ट्याङ्करमा लगाइएको आधिकारिक सिल फलामको पाइपमा जडित हुक प्रयोग गरी उचालिएको थियो। त्यसपछि ट्याङ्करबाट इन्धन चोरी गरी बिक्रीका लागि ग्यालेनमा भरिरहेको अवस्थामा प्रहरी टोलीले रंगेहात नियन्त्रणमा लिएको हो।
यस घटनामा संलग्न रहेको आरोपमा सौदागर आयल सेन्टरका सञ्चालक सुनैन मियाँ, कर्मचारी असलम हवारी र रफिक मियाँ सहित मकवानपुरका सन्देश राना मगर, केशर राम सुनार, मन्द सिंह लामा र उमेश राना मगर गरी सात जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैलाई ना.७ख १५३९ नम्बरको ट्याङ्करसहित नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्ल ले जानकारी दिएका छन्।
प्रहरीले हवाई इन्धनजस्तो संवेदनशील पेट्रोलियम पदार्थको अनधिकृत चोरी तथा बिक्री वितरणमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कडा कारबाही गरिने जनाएको छ।
