नवआगन्तुक एसपी भट्टराईको कडा एक्सन : पर्सामा अनैतिक गतिविधिविरुद्ध धमाधम कारबाही, १६ जना नियन्त्रणमा

समाचार

वीरगञ्ज, साउन २१ । जिल्ला प्रहरी कार्यालय पर्साका नवआगन्तुक प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले जिम्मेवारी सम्हालेको एक सातासमेत नबित्दै जिल्लामा शान्ति सुरक्षा, लागूऔषध नियन्त्रण, तस्करी नियन्त्रण तथा सामाजिक विकृति नियन्त्रणलाई प्राथमिकतामा राखेर तीव्र अभियान सञ्चालन गरेका छन्। सोही अभियानअन्तर्गत प्रहरीले अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा पछिल्ला केही दिनभित्र १६ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा २०८३ साउन २१ गते अपराह्न ४:१५ बजे वीरगञ्ज महानगरपालिका–१६ स्थित रितेश गुप्ता होटलमा वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक विक्रम सुवेदीको नेतृत्वमा खटिएको टोलीले छापा मारेको थियो। छापाका क्रममा होटलमा अनैतिक गतिविधि भइरहेको आशंकामा होटल सञ्चालकसहित तीन महिला र एक पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

यसअघि साउन १९ गते पनि वडा प्रहरी कार्यालय वीर्ताले वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार क्षेत्रका अभिषेक होटल तथा अर्को एक होटलमा एकसाथ छापा मारेको थियो। उक्त कारबाहीमा सात महिला र पाँच पुरुष गरी १२ जनालाई नियन्त्रणमा लिइएको थियो।

प्रहरी निरीक्षक विक्रम सुवेदीका अनुसार ती होटलहरूमा केही दिनदेखि अनैतिक गतिविधि सञ्चालन भइरहेको भन्ने स्थानीयस्तरबाट निरन्तर गुनासो आएपछि प्रहरीले गोप्य निगरानी बढाएको थियो। निगरानीका क्रममा प्राप्त प्रमाण र सूचनाका आधारमा छापा मारिएको उनले बताए।

प्रहरी पुगेपछि पक्राउ प्रक्रिया सुरु गर्ने क्रममा अर्को होटलका सञ्चालक भने फरार भएका थिए। फरार व्यक्तिको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नियन्त्रणमा परेका व्यक्तिहरूको उमेर २० देखि ४५ वर्षको बीचमा रहेको बताइएको छ। उनीहरूलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको छ भने प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

सामाजिक विकृतिविरुद्ध प्रहरीको अभियान तीव्र

एसपी पवनकुमार भट्टराईले पर्सा प्रहरीको नेतृत्व सम्हालेपछि जिल्लामा शान्ति सुरक्षा कायम राख्ने, तस्करी नियन्त्रण गर्ने, लागूऔषध कारोबारविरुद्ध कडा कदम चाल्ने तथा समाजमा विकृति फैलाउने गतिविधिमाथि निर्मम कारबाही गर्ने नीति अघि सारेका छन्। त्यसअनुसार प्रहरीले विभिन्न क्षेत्रमा निगरानी बढाएको छ।

प्रहरी स्रोतका अनुसार अनैतिक गतिविधि सञ्चालन हुने आशंका गरिएका होटल, लज तथा अन्य स्थानहरूमा निगरानीलाई थप प्रभावकारी बनाइएको छ। कानूनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि कानुनी कारबाही गरिने र समाजमा शान्ति, सुरक्षा तथा सामाजिक मर्यादा कायम गर्न यस्ता अभियान निरन्तर सञ्चालन गरिने प्रहरीको भनाइ छ।

पछिल्ला कारबाहीहरूले पर्सामा कानूनविपरीत गतिविधिविरुद्ध प्रहरी थप आक्रामक रूपमा प्रस्तुत भएको सन्देश दिएको स्थानीयवासीको भनाइ छ। प्रहरीले नागरिकलाई पनि यस्ता गतिविधिबारे सूचना उपलब्ध गराई समाजलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग गर्न आग्रह गरेको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *