वीरगञ्ज, जेठ ३१ ।पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै तस्करी नियन्त्रण अभियानमा अर्को सफलता हासिल गरेको छ।
विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शनिबार पर्साको जगरनाथपुर गाउँपालिका–३, मुरैया चोक स्थित खेतबाट १०० किलोग्राम गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार पाँच वटा चामलको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको थियो। संयुक्त टोलीले खेतमा छापा मारेर गाँजा रीतपूर्वक बरामद गरेको जनाएको छ।
बरामद गरिएको गाँजा कसले र कुन उद्देश्यका लागि त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको छ। घटनासँग संलग्न व्यक्तिहरूको खोजी कार्य तीव्र पारिएको पर्सा प्रहरीले जनाएको छ।
हाल बरामद गाँजालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा तस्करी सञ्जालको पहिचान गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
पछिल्लो समय पर्सा जिल्लामा लागुऔषध तथा अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायले संयुक्त रूपमा निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाउँदै आएको छ।
