वीरगञ्ज, ३१ जेठ । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारमा सञ्चालन भइरहेको जुवाखालमाथि प्रहरीले छापा मार्दै १२ जना जुवाडेलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शनिबार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले श्रीपुर बजार क्षेत्रबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट जुवा खेल्न प्रयोग गरिएको ५ बुक तास तथा नगद रु. ४१ हजार ३३५ बरामद गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूमाथि जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।
पर्सा प्रहरीले जिल्लाभर अवैध गतिविधिविरुद्ध निगरानी तथा नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाएको जनाएको छ। प्रहरीले जुवा, तस्करी, लागूऔषध तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
