अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालयको समय परिवर्तन, दुई दिन बिहान ९:३० बजे नै छुट्टी

समाचार

वीरगञ्ज, असार ३ । बढ्दो गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समय अस्थायी रूपमा परिवर्तन गरेको छ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाद्वारा जारी सूचनाअनुसार असार ४ र ५ गते दुई दिनका लागि विद्यालय सञ्चालन समय बिहान ६ बजेदेखि ९:३० बजेसम्म मात्र कायम गरिएको छ। यस अवधिमा सबै विद्यालयले सोही समयअनुसार पठनपाठन सञ्चालन गर्नुपर्ने जनाइएको छ।

महानगरपालिकाले पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी बढ्दै गएको र त्यसले विशेषगरी बालबालिकाको स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सावधानीस्वरूप यस्तो निर्णय गरिएको जनाएको छ।

प्रमुख शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेद्वारा जारी सूचनामा सम्बन्धित सबै विद्यालय, अभिभावक तथा सरोकारवालाहरूलाई निर्धारित समयअनुसार पठनपाठन सञ्चालन तथा व्यवस्थापन गर्न अनुरोध गरिएको छ।

गर्मीको प्रभाव अझै बढ्न सक्ने मौसमीय अवस्थालाई ध्यानमा राख्दै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिई महानगरपालिकाले यो व्यवस्था लागू गरेको हो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *