काठमाडौं, असार ५।काठमाडौंको लाजिम्पाटस्थित एक बारबाट स्रोत नखुलेको २२ लाख रुपैयाँ नगदसहित क्रिप्टोकरेन्सी (Crypto Currency) कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार साँझ करिब ८ बजे अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले छापा मारेर दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरूमा नुवाकोटको म्यागङ गाउँपालिका–५ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–६ बस्दै आएका ४७ वर्षीय तारालाल विश्वकर्मा तथा पर्वतको मोदी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ५० वर्षीय होमबहादुर केसी रहेका छन्।
प्रहरीले तारालाल विश्वकर्माले बोकेको झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा स्रोत नखुलेको नेपाली नगद २२ लाख रुपैयाँ, अमेरिकी डलर ४० तथा रकम उल्लेख नगरिएका हस्ताक्षरयुक्त चार थान चेक बरामद गरेको जनाएको छ।
अनुसन्धानका क्रममा विश्वकर्माले प्रयोग गर्ने मोबाइल फोनमा रहेको Binance App मा करिब २ हजार USDT बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको विवरण समेत फेला परेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न दुवै जनाविरुद्ध थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
नेपाल राष्ट्र बैंकले हालसम्म क्रिप्टोकरेन्सी कारोबारलाई कानुनी मान्यता नदिएको अवस्थामा प्रहरीले यस्ता गतिविधिमाथि निगरानी र कारबाहीलाई तीव्र बनाएको जनाएको छ।
