बारा ,७ असार । सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराले सीमावर्ती क्षेत्रमा अवैध तस्करी तथा प्रतिबन्धित वस्तुको ओसारपसार नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका कुखुराका चल्ला तथा मोटरसाइकल बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवाल को निर्देशन तथा नेतृत्वमा सञ्चालन भइरहेको अवैध कारोबार नियन्त्रण अभियान अन्तर्गत उक्त सफलता हासिल भएको हो। पछिल्लो समय सीमावर्ती क्षेत्रमा तस्करी, राजस्व छली तथा प्रतिबन्धित वस्तुको अवैध आयात बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको छ।
सशस्त्र प्रहरी बलका अनुसार बिओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईंको कमान्डमा खटिएको टोलीले विशेष सूचनाको आधारमा बारा जिल्लाको बिश्रामपुर गाउँपालिका अन्तर्गत पर्ने मुशहर्वा चौक क्षेत्रमा निगरानी बढाएको थियो। सोही क्रममा भारतबाट भन्सार प्रक्रिया पूरा नगरी तथा आवश्यक अनुमति बिना अवैध रूपमा नेपालतर्फ भित्र्याइएका कुखुराका चल्ला बरामद गरिएको हो।
बरामद गरिएका चल्लाको अनुमानित मूल्य करिब दुई लाख रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ। त्यसैगरी चल्ला ओसारपसारमा प्रयोग गरिएको एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ, जसको अनुमानित मूल्य करिब एक लाख रुपैयाँ रहेको बताइएको छ।
सशस्त्र प्रहरीको उपस्थिती देख्नासाथ तस्करीमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएका कारण उनीहरूको पहिचान तथा खोजी कार्य जारी रहेको स्रोतले जनाएको छ। बरामद गरिएका चल्लाहरू पशुजन्य रोगको जोखिम तथा सरकारी नियमविपरीत अवैध रूपमा आयात गरिएको पाइएकाले सम्बन्धित निकायको समन्वयमा नष्ट गरिएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ।
सीमावर्ती क्षेत्रमा अवैध रूपमा भित्रिने पशुपन्छी तथा कृषि सामग्रीले स्थानीय बजार, पशु स्वास्थ्य तथा राजस्व प्रणालीमा प्रतिकूल असर पार्ने भएकाले यस्ता गतिविधिविरुद्ध कडा निगरानी राखिएको सशस्त्र प्रहरीको भनाइ छ। विशेषगरी खुला सीमाको दुरुपयोग गर्दै हुने अवैध व्यापार नियन्त्रणका लागि नियमित गस्ती, आकस्मिक चेकजाँच तथा सूचना संकलनलाई थप प्रभावकारी बनाइएको जनाइएको छ।
सशस्त्र प्रहरी उपरीक्षक विशाल सिलवालले सीमाक्षेत्रमा हुने तस्करी, राजस्व छली, प्रतिबन्धित वस्तुको ओसारपसार तथा अन्य अवैध गतिविधिविरुद्ध अभियान निरन्तर जारी रहने स्पष्ट पार्दै कानुनविपरीतका कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरेका छन्। उनले राज्यको राजस्व संरक्षण, सीमा सुरक्षा तथा जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले अवैध कारोबार नियन्त्रणमा सशस्त्र प्रहरी कुनै पनि हालतमा सम्झौता नगर्ने बताए।
सशस्त्र प्रहरी बल बाराले सीमाक्षेत्रमा शान्ति सुरक्षा कायम राख्नुका साथै अवैध व्यापार नियन्त्रण, राजस्व चुहावट रोकथाम तथा सीमा सुरक्षालाई थप मजबुत बनाउन यस्ता अभियान आगामी दिनमा अझ सशक्त रूपमा सञ्चालन गरिने जनाएको छ।
