मोटरसाइकलको ठक्करबाट मोटरसाइकल सवारसहित तीन जनाको मृत्यु

समाचार

बारा, असार ८ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित वीरगञ्ज–पथलैया सडकखण्डमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।

सोमबार साँझ करिब ५ः४० बजे जितपुरबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ६८ प ७४९१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेका एक पुरुष पैदलयात्रीलाई ठक्कर दिएको थियो। दुर्घटनामा पैदलयात्रीसहित मोटरसाइकलमा सवार दुई जना युवक गम्भीर घाइते भएका थिए।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा टोली खटिएर घाइतेहरूको उद्धार गरी उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल तथा बयोधा अस्पताल पठाइएको थियो।

प्रहरीका अनुसार उपचारकै क्रममा पैदलयात्रीको नारायणी अस्पतालमा साँझ ६ः१५ बजे मृत्यु भएको हो। मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।

यस्तै मोटरसाइकलमा सवार काठमाडौं टोखा नगरपालिका निवासी अन्दाजी २० वर्षीय डिजेन जोशी तथा जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैया निवासी अन्दाजी २० वर्षीय सभ्य अधिकारीको बयोधा अस्पतालमा उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय जितपुरको नियन्त्रणमा रहेको छ। घटनापछि सडक अवरुद्ध नभएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *