वीरगञ्ज, असार ११। पर्सामा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई अझ सशक्त बनाउँदै एकै अभियानमा २५ लाख ४० हजार ५४७ रुपैयाँ बराबरका अवैध सामान, चौपाया तथा सवारीसाधन बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण अभियान अन्तर्गत उक्त सफलता हासिल भएको हो।
सशस्त्र प्रहरीका अनुसार असार ९ गते पर्साको जगरनाथपुर गाउँपालिका–१ पाण्डेपुरस्थित सीमा क्षेत्रमा भारतबाट भन्सार छलि गरी नेपालतर्फ ल्याइँदै गरेको ना.३ च १४६८ नम्बरको पिकअप गाडी नियन्त्रणमा लिइएको थियो। प्रहरी टोलीले उक्त गाडीमा लोड गरी ल्याइँदै गरेको एक दुहुना भैँसी र एक पाडासहित चौपाया बरामद गरेको हो।

बरामद चौपायाको मूल्य १ लाख ४ हजार ६ सय रुपैयाँ तथा पिकअप गाडीको मूल्य १२ लाख रुपैयाँ कायम गरिएको छ। यसरी चौपाया र गाडीसहित कुल १३ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ। प्रहरी टोलीलाई देख्नासाथ तस्करीमा संलग्न व्यक्ति सामान छाडेर भारततर्फ फरार भएका थिए।
बरामद चौपाया र पिकअप गाडीलाई आवश्यक कानुनी कारबाहीका लागि असार १० गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी सोही दिन आश्वारी, पाण्डेपुर, इनर्वा, छपकैया, बहुअरी तथा अलौ नाकालगायतका विभिन्न सीमा क्षेत्रहरूमा गरिएको छुट्टाछुट्टै कारबाहीमा १० लाख ६० हजार ६ सय ६२ रुपैयाँ बराबरका भैँसी, पाडा–पाडी, कृषि प्रयोजनका किटनाशक औषधि तथा मानव स्वास्थ्यसँग सम्बन्धित औषधिहरू बरामद गरिएको छ।
सशस्त्र प्रहरीको सक्रिय निगरानीका कारण अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरेका यी सामग्री नियन्त्रणमा लिन सफल भएको जनाइएको छ। बरामद सबै सामान आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ।
यता असार १० गते नै इनर्वा र मधवल क्षेत्रबाट पनि ७५ हजार २ सय ८५ रुपैयाँ बराबरका अवैध किराना सामग्री, डिजेल, मेडिकल ल्याबमा प्रयोग हुने उपकरण तथा तरकारी बरामद गरिएको छ। ती सामग्री समेत भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच जगरनाथपुर गाउँपालिकाको मुरैया नाकाबाट करिब १ लाख रुपैयाँ मूल्य बराबरको एक लैनो भैँसी र एक पाडो पनि बरामद गरिएको छ। उक्त चौपाया हाल कानुनी प्रक्रिया अनुसार लिलामी प्रक्रियामा रहेको जानकारी दिइएको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार सीमा क्षेत्रमा अवैध तस्करी, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणका लागि सुरक्षा निगरानी थप कडा बनाइएको छ। उनले तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिँदै सीमा क्षेत्रका सबै नाकाहरूमा गस्ती तथा निगरानी अझ प्रभावकारी बनाइएको बताए।
पर्सा जिल्लाका विभिन्न सीमा नाकाहरूबाट पछिल्लो समय सशस्त्र प्रहरीले लगातार अवैध सामान, लागूऔषध, पशुचौपाया तथा भन्सार छलीका सामग्री बरामद गर्दै आएको छ। यसले सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणमा सुरक्षा निकायको सक्रियता बढेको संकेत गरेको स्थानीयवासीको भनाइ छ।
सशस्त्र प्रहरीको निरन्तर निगरानी र सक्रिय कारबाहीका कारण तस्करी नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको तथा राजस्व चुहावट रोक्न महत्वपूर्ण योगदान पुगेको सुरक्षा अधिकारीहरूको विश्वास रहेको छ।
