ठोरीमा सशस्त्र प्रहरीको ठूलो सफलता : १५८ किलो गाँजासहित घर फेला, सञ्चालक फरार

समाचार

वीरगञ्ज, असार ११ ।पर्सामा लागू औषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै आएको सशस्त्र प्रहरी बलले ठोरी गाउँपालिकामा ठूलो मात्रामा गाँजा बरामद गर्न सफलता हासिल गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले विशेष सूचनाको आधारमा सञ्चालन गरेको कर्डन एन्ड सर्च अपरेशनका क्रममा १५८ किलोग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको लागू औषध नियन्त्रण अभियान अन्तर्गत मिति २०८३ असार ११ गते ठोरी गाउँपालिका–४ मिलचोकस्थित एक घरमा छापा मारिएको थियो। प्राप्त विशेष सूचनाअनुसार गम्भीर श्रेष्ठको जस्तापाताले छाएको पक्की घरमा ठूलो मात्रामा गाँजा लुकाइ राखिएको जानकारी पाएपछि सशस्त्र प्रहरीले योजनाबद्ध रूपमा अपरेशन सञ्चालन गरेको थियो।

सीमा सुरक्षा गुल्म मुख्यालय भिखमपुर र सुवर्णपुरका गुल्मपतिहरूको कमाण्डमा ५४ जना सशस्त्र प्रहरीको टोली परिचालन गरी उक्त घरलाई चारैतिरबाट घेरा हालिएको थियो। नेपाल प्रहरी तथा स्थानीय जनप्रतिनिधिहरूलाई समेत जानकारी गराई संयुक्त रूपमा गरिएको खोजतलासका क्रममा घरभित्र ११ वटा प्लास्टिकका बोरा तथा पोकामा लुकाइछिपाइ राखिएको अवस्थामा १५८ किलोग्राम गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको छ। तर गाँजा राखिएको भनिएको घरका सञ्चालक गम्भीर श्रेष्ठ भने प्रहरी टोली पुग्नुअघि नै फरार भएका थिए।

प्रहरीले उनको खोजी तीव्र बनाएको जनाएको छ।
कारबाहीका क्रममा गम्भीर श्रेष्ठ घरमा उपस्थित नभएको र उनका दुई नाबालक सन्तान रहेको अवस्थालाई मध्यनजर गर्दै उनकी श्रीमती अस्मिता तामाङ श्रेष्ठलाई खोजतलासका क्रममा आवश्यक परे प्रहरी कार्यालयमा उपस्थित हुने सर्तमा ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठको जिम्मा लगाएर छाडिएको जनाइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक मोहनराज निरौलाका अनुसार लागू औषध नियन्त्रण, तस्करी रोकथाम तथा सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सशस्त्र प्रहरीको अभियान निरन्तर रूपमा सशक्त बनाइएको छ। पछिल्लो समय पर्साका विभिन्न सीमावर्ती क्षेत्रमा लागू औषध तथा अवैध सामान ओसारपसारविरुद्ध सशस्त्र प्रहरीले आक्रामक रूपमा कारबाही अघि बढाएको छ।

यस घटनाले पर्साको ठोरी क्षेत्र लागू औषध कारोबारका लागि प्रयोग हुन सक्ने सम्भावित मार्गप्रति सुरक्षा निकायलाई थप सचेत बनाएको छ। सुरक्षा अधिकारीहरूका अनुसार बरामद भएको गाँजाको परिमाण हेर्दा यो संगठित नेटवर्कमार्फत अन्यत्र लैजाने तयारीमा राखिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

लागू औषधविरुद्धको अभियानलाई निरन्तरता दिँदै सशस्त्र प्रहरी र नेपाल प्रहरीले फरार गम्भीर श्रेष्ठको खोजी तथा घटनाको थप अनुसन्धान जारी राखेका छन्। उक्त बरामदलाई पर्सा जिल्लामा पछिल्लो समय भएको लागू औषध नियन्त्रणसम्बन्धी महत्वपूर्ण सफलतामध्ये एक मानिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *