फागुन २५ वीरगंज । आज भगवान शिवको पुजा आराधना गरी आज देशभरि महाशिवरात्री पर्व मनाइँदैछ। फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाअराधना गरी मनाइँदै छ।
शिवरात्रीको अवसरमा वीरगंजमा रहेको शिवालयहरुमा पनि बिहानै दर्शनार्थीको घुइचो लागेको छ। वीरगंजको अलखिया मठ, चिनिमिलमा रहेको पशुपतिनाथ, ईटियाहीमा रहेको शिवमहादेव मन्दिर, बौद्धिमाई मन्दिरलगायतको शिवालयमा दर्शनार्थीहरुको भिड लागेको छ।
पशुपतिनाथ मन्दिरमा बिशेष भिड
चिनिमिल पिपरामा रहेको पशुपति मन्दिरमा बिहानै देखि दर्शनार्थीहरुको भिड लागेको छ। मन्दिर व्यवस्थापन समितिले दर्शनार्थीको लागि नि:शुल्क प्रसाद वितरण गरिरहेको छ।
महाशिवरात्रीको अवसरमा आज साँझ मन्दिर परिसरमा महा आरती र धुनी जगाउने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितीका सदस्य बाबुनन्द पटेलले जानकारी दिए। ‘आज दिनभरि नै प्रसाद बितरण गर्ने कार्यक्रम छ, राती महाआरती र धुर्नी जगाई रातीभरी पुजापाठ गर्ने कार्यक्रम छ,’ सदस्य पटेलले भने।
यसैगरी मन्दिर परिसरमै नेपाल बजरंग दलको आयोजनामा २४ घण्टे अखण्ड अष्टजाम पनि भइरहेको छ। हरे शिव हरे शिव शिव शिव हरे हरे मुलमन्त्र जाप गर्दे २४ घण्टे अखण्ड अष्टजाम भइरहेको राष्ट्रिय बजरङ्ग दल वीरगंज महानगर कमिटीका अध्यक्ष नितेश पटेलले जानकारी दिए।
