लागूऔषध नियन्त्रण अभियान तीव्र: जितपुर प्रहरीको दुई छुट्टाछुट्टै अपरेशनमा ब्राउन सुगर र गाँजासहित दुई युवक पक्राउ

समाचार

बारा, ५ साउन । जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने क्रममा इलाका प्रहरी कार्यालय जितपुरले एकै दिन सञ्चालन गरेको दुई छुट्टाछुट्टै कारबाहीमा दुई युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवँर को निर्देशनमा सञ्चालन भइरहेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौला को कमान्डमा खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा यी सफल अपरेशन गरेको हो।

प्रहरीका अनुसार पहिलो घटना साउन ५ गते दिउँसो करिब २:०० बजे जितपुर–सिमरा उपमहानगरपालिका–७ पहाडी टोल क्षेत्रमा भएको हो। विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले स्थानीय २५ वर्षीय विदेशी ठाकुर लाई शंकास्पद अवस्थामा फेला पारी खानतलासी गर्दा उनको साथबाट थोरै परिमाणमा ब्राउन सुगर बरामद गरेको जनाएको छ।

पक्राउ परेका ठाकुरलाई प्रारम्भिक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जितपुरमा ल्याइएको थियो। त्यसपछि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय सिमरा पठाइएको प्रहरीले जनाएको छ।

यसैगरी सोही दिन अपराह्न करिब ४:०० बजे जितपुर–सिमरा उपमहानगरपालिका–७ कै सिधरी टोल क्षेत्रमा अर्को विशेष अपरेशन सञ्चालन गरिएको थियो। प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा खटिएको टोलीले स्थानीय ३७ वर्षीय दिवेन्द्र बैठा लाई नियन्त्रणमा लिएको हो।

प्रहरीले दिवेन्द्र बैठाको साथबाट २ किलो ७५४ ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ। बरामद पदार्थको परीक्षण तथा घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

बारा प्रहरीले पछिल्लो समय लागूऔषधको ओसारपसार, बिक्री–वितरण तथा सेवन नियन्त्रणलाई प्राथमिकतामा राख्दै विशेष निगरानी र सूचनामा आधारित अपरेशनलाई तीव्र बनाएको छ। प्रहरीका अनुसार लागूऔषध सम्बन्धी अपराधमा संलग्न व्यक्तिहरूमाथि कानुनबमोजिम कडा कारबाही गरिनेछ भने यस्ता गतिविधिविरुद्ध सर्वसाधारणलाई पनि सूचना दिएर सहयोग गर्न आग्रह गरिएको छ।

प्रहरीले दुवै घटनामा पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *