वीरगञ्ज ,२४ साउन । पर्सामा अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बालुवा लोड गरिएको ट्र्याक्टरसहित एक जना चालकलाई नियन्त्रणमा लिएको छ।
पर्सा प्रहरीले अवैध बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्र.२–०३–००१ त ६१३७ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ। ट्र्याक्टरमा अवैध रूपमा उत्खनन गरिएको बालुवा लोड रहेको प्रहरीले जनाएको छ।
प्रहरीले ट्र्याक्टरका चालकलाई समेत नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न प्रहरीले निगरानी तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।
नियन्त्रणमा लिइएको ट्र्याक्टर र चालकलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
