मकवानपुर, २३ कार्तिक ।
मकवानपुर प्रहरीले १४ ग्राम ७६० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने लागुऔषधसहित एक महिलालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२।०७।२१ गते साँझ करिब ६:३० बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्टमा प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले पूर्व–पश्चिम राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा उक्त लागुऔषध फेला पारेको हो।
विरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३–००१ ज ९९८ नम्बरको यात्रुबाहक ईभी गाडीमा सवार मकवानपुर मनहरी गाउँपालिका–९ बस्ने ३६ वर्षीया अनिता श्रेष्ठलाई शंका लागी तलासी गर्दा उनको साथबाट १४ ग्राम ७६० मिलिग्राम तौलको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएको लागुऔषधसहित श्रेष्ठलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
